मकवानपुरमा भेटिएको शवको सनाखत
मकवानपुर । मकवानपुरमा आइतबार भेटिएको शवको सनाखत भएको छ । जिल्लाको मनहरी गाउँपालिका वडा नम्वर ६ राप्ती र लोथर खोलाको मध्यवर्ती दोभान क्षेत्रमा भटिएको शवको आज सनाखत भएको हो ।
उक्त शव चितवनको राप्ति नगरपालिका वडा नम्वर १ दुबिचौर बस्ने १७ वर्षीय पुष्पराज तामाङको रहेको मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।
प्रहरी नायव उपरीक्षक भण्डारीका अनुसार, उक्त शव तामाङको हो भनि निजको बाबु इन्द्रबहादुर तामाङले सनाखत गरेका हुन् । हेटौंडा अस्पतालमा राखिएको तामाङको शव उनको बाबुले पाइन्ट र चप्पलको आधारमा सनाखत गरेका हुन् ।
उक्त स्थानमा गत मंसिर ८ गते शुक्रबार बिहान चितवन राष्ट्रिय निकुञ्जबाट आएको बाघको आक्रमणबाट चितवनको राप्ती नगरपालिका बस्ने ४३ वर्षीय हरी पौडेलको मृत्यु भएको थियो । उक्त बाघ नियन्त्रणमा लिन निकुञ्जको टोली ४ वटा हात्तीसहित आइतबार मध्यवर्ती क्षेत्रमा प्रवेश गरेको थियो ।
सो क्रममा चितवन राष्ट्रिय निकुञ्जका नेपाली सेना र निकुञ्जकै सुनाचुरी रेन्ज पोष्टबाट बाघ खोज्न खटिएको टोलीले आइतबार अपराह्न ५ बजेको समयमा तामाङको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
तामाङको शव कम्मरभन्दा तलको भाग मात्रै रहेको र कम्मरभन्दा माथिको भाग हड्डी मात्रै रहेको अवस्थामा भेटिएको थियो ।