२ अर्ब ८६ करोड रुपैयाँ ब्याजमा लगानी गर्दै राष्ट्र बैंक

तु खबर संवाददाता
२०८० मंसिर ११,सोमबार १६:००

काठमाडौं । नेपाल राष्ट्र बैंकले २ अर्ब ८६ करोड रुपैयाँ बढी रकम ब्याजमा लगानी गर्ने भएको छ ।

बैंकको विभिन्न कोषहरुमा रहेको कूल २ अर्ब ८६ करोड ५३ लाख रुपैयाँ केन्द्रीय बैंकले लगानी गर्न लागिएको हो ।

केन्द्रीय बैंकले आइतबार एक सूचना जारी गर्दै बैंक तथा वित्तीय संस्थालाई चाहेको निक्षेपका लागि आवेदन दिन भनिएको थियो ।

सूचना अनुसार कूल रकममध्ये २ अर्ब २९ करोड २२ लाख रुपैयाँ क वर्गको वाणिज्य बैंक, ४२ करोड ९८ लाख रुपैयाँ ख वर्गको विकास बैंक र १४ करोड ३३ लाख रुपैयाँ ग वर्गको राष्ट्रिय स्तरका वित्त कम्पनीहरुका लागि छुट्याइएको उल्लेख छ ।

निक्षेप चाहने बैंक तथा वित्तीय संस्थाले मंसिर १२ गते अर्थात् मंगलबार राती १२ बजेभित्र आवेदन दिनुपर्नेछ ।

केन्द्रीय बैंकले निक्षेप भने २०८० पुस १ गते प्रदान गरिने जनाएको छ ।

बैंकका अनुसार, १ वर्षका लागि प्रदान गरिने निक्षेप २०८१ मंसिर ३० गते परिपक्क हुनेछ ।