आजबाट रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक आजबाट सुरु हुने भएको छ ।
बैठक आजदेखि महोत्तरीको जलेश्वरमा सुरु हुने भएको हो । मध्याह्न १२ बजेपछि बस्ने बैठकमा प्रदेश सभापति र इन्चार्जहरुको सहभागिता जनाउनेछन् ।
यसअघि गत कात्तिक २२ र २३ गतेका लागि तय गरिएको बैठक जाजरकोट भूकम्पपछि स्थगित गरिएको थियो ।
बैठक आजबाट मंसिर १३ गतेसम्म संचालन हुनेछ । उक्त बैठकले पार्टीको आगामी नीति र राजनीतिक रोडम्याप तय गर्ने रास्वपाका महामन्त्री मुकुल ढकालले बताए ।
यस्तै, बैठकमा केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग र प्रदेशहरूबाट सांगठनिक एवम् राजनीतिक प्रतिवेदन र आर्थिक प्रतिवेदन पेश हुने छन् ।
यसैगरी, बैठकमा सासंदहरूको र संसदीय कार्यको समीक्षा तथा महाधिवेशनको विधिबारे पनि छलफल हुने महामन्त्री ढकालले बताए ।