मकवानपुरमा एक पुरुषको शव फेला, कम्मर माथिको भाग हड्डी मात्रै

तु खबर संवाददाता
२०८० मंसिर ११,सोमबार ०९:०१
file-photo

मकवानपुर । मकवानपुरमा आइतबार एक पुरुषको शव फेला परेको छ । जिल्लाको मनहरी गाउँपालिका वडा नम्वर ६ राप्ती र लोथर खोलाको मध्यवर्ती दोभान क्षेत्रमा हाल नाम, थर, बखत नखुलेको एक पुरुषको शव फेला परेको मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

उनका अनुसार, उक्त स्थानमा गत मंसिर ८ गते शुक्रबार बिहान चितवन राष्ट्रिय निकुञ्जबाट आएको बाघको आक्रमणबाट चितवनको राप्ती नगरपालिका बस्ने ४३ वर्षीय हरी पौडेलको मृत्यु भएको थियो । उक्त बाघ नियन्त्रणमा लिन निकुञ्जको टोली ४ वटा हात्तीसहित मध्यवर्ती क्षेत्रमा प्रवेश गरेको थियो ।

सो क्रममा चितवन राष्ट्रिय निकुञ्जका नेपाली सेना र निकुञ्जकै सुनाचुरी रेन्ज पोष्टबाट बाघ खोज्न खटिएको टोलीले आइतबार अपराह्न ५ बजेको समयमा ती पुरुषको शव देखेको भनि प्रहरीलाई खबर प्राप्तभएपछि प्रहरी चौकी सुनाचुरी र इलाका प्रहरी कार्यालय मकवानपुरको टोली घटनास्थलतर्फ गएको थियो ।

प्रहरी टोली घटनास्थल पुग्दा जंगली जनावरको आक्रमणमा परेर मृत्यु भएको जस्तो देखिने अवस्थामा ती पुरुषको शव फेला परेको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए ।

उनका अनुसार, ती पुरुषको शव कम्मरभन्दा तलको भाग मात्रै रहेको र कम्मरभन्दा माथिको भाग हड्डी मात्रै रहेको अवस्थामा फेला परेको हो ।

शव घटनास्थलबाट कानूनी प्रकृया पूरा गरी पोष्टमार्टमको लागि हेटौंडा अस्पतालमा ल्याइएको र घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको उनले बताए ।