छुरा प्रहारबाट पोर्चुगलमा एक नेपालीको मृत्यु

लिस्बन । पोर्चुगलमा छुरा प्रहारबाट एक जना नेपाली युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्री रहेका छन् ।
पोर्चुगलको ओडिमिरास्थित बोआभिस्ता बस्दै आएका क्षेत्रीलाई उनीसँगै बस्दै आएका पुतलीबजार –१२ पेल्काचौरका ३० वर्षीय लोकेन्द्र गुरुङले गत मंगलबार राति छुरा प्रहार गरेका थिए ।
मदिराले मातेका गुरुङले छुरा प्रहार गर्दा गम्भीर घाइते भएका उनको शान्तियागोस्थित लिटरोल अलेन्टेजानो अस्पतालमा उपचारका क्रममा बिहीबार मृत्यु भएको गैरआवासीय नेपाली संघ पोर्चुगलले जनाएको छ ।
मृतक क्षेत्रीको शव परीक्षणका लागि सोही अस्पतालको शवगृहमा राखिएको र उनको मृत्यु बारे निजका परिवारलाई जानकारी गराइएको जनाएको छ ।
छुरा प्रहार गरी फरार भएका गुरुङलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।
क्षेत्री र गुरुङ वैदेशिक रोजगारीका सिलसिलामा ८ महिना अघि पोर्चुगल पुगेका थिए । उनीहरु दुवै जना ओडिमिरास्थित एक कृषि कम्पनीमा कार्यरत थिए ।