दुर्गा प्रसाईले शनिबारदेखि तीनकुनेमा प्रदर्शन गर्ने
काठमाडौं । दुर्गा प्रसाईं भोलि शनिबार काठमाडौंको तीनकुनेमा प्रदर्शन गर्ने बताएका छन् । शुक्रबार ठिमीस्थित आफ्नै निवासमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले भोलि तीनकुनेमा प्रदर्शन हुने घोषणा गरेका हुन् ।
सो क्रममा उनले आफ्नो समर्थनहरुलाई सरकारले नजरबन्दमा राखिएको बताउँदै २७ सय जनालाई पक्राउ गरेको उल्लेख गरे ।
उनले सरकारले आफ्नो सुरक्षाका नाममा आफूलाई घरभित्र थुनेर बेवकुफ बनाउन खोजेको आरोप लगाउँदै आफू गोली खान वा जेल जान तयार रहेको तर, आन्दोलन छोडेर नभाग्ने बताए ।
प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउन महाअभियानले यसअघि बिहीबार पनि काठमाडौंमा प्रदर्शन गरिएको थियो ।
शुक्रबार पनि आन्दोलनको घोषणा गरेका उनलाई प्रहरीले घरबाट निस्किन नदिई थुनेर राखेको थियो । यता तीनकुनेमा प्रदर्शनका लागि आएका उनका समर्थकहरूलाई भने प्रहरीले नियन्त्रणमा लिएको थियो ।