मकवानपुरमा डेंगु संक्रमितको संख्या ७६५ पुग्यो
मकवानपुर । मकवानपुरमा डेंगु संक्रमितको कुल संख्या ७६५ पुगेको छ । जिल्लामा गत साउन १ गतेदेखि हालसम्म उक्त संख्यामा डेंगु संक्रमित फेला परेको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
जिल्लामा ३९२ पुरुष र ३७३ महिलामा गरी ७६५ जनामा डेंगु संक्रमण पुष्टि भएको हो । जिल्लामा कुल संक्रमितमध्ये सबैभन्दा धेरै संक्रमित हेटौंडा उपमहानगरपालिमा रहेका छन् । त्यहाँ ५३० जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।
यसैगरी, थाहानगरपालिकाका ३ जना, मकवानपुरगढी गाउँपालिकाका २० जना, बागमती गाउँपालिकाका २४ जना, मनहरी गाउँपालिकाका ६८ जना, इन्द्रसरोवर गाउँपालिकाका ४ जना, भीमफेदी गाउँपालिकाका ३७ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।
यसैगरी, सो अवधिमा बकैया गाउँपालिकाका २५ जना र राक्सिराङ गाउँपालिकामा २ जना, हेटौंडामा अस्पतालमा ४० जना र अन्य जिल्लाका १२ जनामा संक्रमण पुष्टि भएको छ ।
जिल्लाको कैलाश गाउँपालिकामा भने डेंगु संक्रमितको बिरामी फेला नपरेको मकवानपुर स्वास्थ्य कार्यालय जनाएको छ ।
त्यस्तै, सो अवधिमा जिल्लामा डेंगु संक्रमणका कारण एक जनाको मृत्यु भएको छ ।
