उर्लाबारी आगजनीमा परेर घाइते भएकामध्ये एक जनाको मृत्यु
२०८० मंसिर ६, बुधबार १५:३९
काठमाडौं । मोरङको उर्लाबारी आगजनीमा परेर घाइते भएकामध्ये एक जनाको मृत्यु भएको छ ।
गत कात्तिक २६ गते आइतबार लक्ष्मीपूजाको राती उर्लाबारी ७ बरगाछीस्थित दीपक कार्कीको घरमा सञ्चालित सुन पसलमा आगलागी हुँदा २८ जना घाइते भएका थिए ।
तीमध्ये गम्भीर घाइते भएका एक जनाको मंगलबार उपचारको क्रममा मृत्यु भएको कीर्तिपुर अस्पतालले जनाएको छ । मृतकको नाम भने खुलेको छैन ।
अस्पतालका अनुसार, २४ जनाको कीर्तिपुर बर्न अस्पतालमा उपचार भइरहेको छ । तीमध्ये ७ जनाको अवस्था गम्भीर भएकाले आइसियुमा राखेर उपचार भइरहेको छ भने बाँकीको प्लास्टिक सर्जरी वार्ड र जनरल वार्डमा उपचार भइरहेको छ ।
गम्भीर घाइते भएका बिरामीका लागि विदेशबाट आएका डाक्टर र अस्पतालका विशेषज्ञ टोलीले उपचार गरिरहेको जनाइएको छ ।
