माइतीघरमा निषेधाज्ञा लगाउने निर्णयविरुद्धको रिटमा आज सुनुवाइ हुँदै
काठमाडौं । माइतीघरमा तथा आसपासमा निषेधज्ञा लगाउने जिल्ला प्रशासन कार्यालय काठमाडौंको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएको रिट निवेदनमाथि आज सुनुवाइ हुँदैछ ।
माइतीघर तथा आसपास विरोध प्रदर्शन गर्न नदिने उद्देश्यले निषेधित क्षेत्र घोषणा गरेको जिल्ला प्रशासन काठमाडौंको निर्णयविरुद्ध मंगलबार दुई वटा रिट निवेदन दर्ता भएको थियो ।
उक्त निर्णयविरुद्ध अधिवक्ता प्रेमराज सिलवाल र भद्रप्रसाद नेपालले मंगलबार छुट्टाछुट्टै रिट निवेदन दर्ता गराएका हुन् । अधिवक्ता सिलवालले गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई विपक्षी बनाएर रिट निवेदन दर्ता गराएका छन् ।
यसैगरी, अधिवक्ता नेपालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई विपक्षी बनाएर रिट निवेदन दर्ता गराएका छन् ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोमबार एक सूचना जारी गर्दै माइतीघर मण्डलादेखि नयाँ बानेश्वर चोकसम्मको सडक क्षेत्रलाई ३० दिनको लागि निषेधित क्षेत्रका रुपमा घोषणा गरेको थियो ।