मकवानपुरमा सौतेनी छोराको कुटपिटबाट महिलाको मृत्यु

तु खबर संवाददाता
२०८० मंसिर ५,मंगलवार १६:४८
file photo

मकवानपुर । मकवानपुरमा सौतेनी छोराको कुटपिटबाट मंगलबार एक महिलाको मृत्यु भएको छ । जिल्लाको मनहरी गाउँपालिका वडा नम्वर ५ डिल्लिपुरमा घरायसी विवादका कारण सौतेनी छोराले कुटपिट गर्दा एक महिलाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा स्थानीय डिलबहार चेपाङको कान्छी श्रीमती अन्दाजी ५० वर्षीया सन्तमाया चेपाङ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जनाएको छ ।

प्रहरीका अनुसार, गत कात्तिक २७ गते विवाद हुँदा डिलबहादुरको जेठी श्रीमतीको छोरा अन्दाजी २६ वर्षीय ईन्द्रबहादुर चेपाङले सन्तमाया कुटपिट गरेका थिए ।

इन्द्रबहादुरको कुटपिटबाट गम्भीर घाइते भएकी उनलाई उपचारको लागि चितवनको भरतपुरस्थित सरकारी अस्पतालमा लागिएको थियो । उनको सोही अस्पतालमा उपचारको क्रममा आज बिहान मृत्यु भएको मकवानपुरका प्रहरी नायव उपरीक्षक भण्डारीले बताए ।

कुटपिटमा संलग्न इन्द्रबहादुरलाई प्रहरीले नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए ।