सडेगलेको अवस्थामा दाजुभाइ मृत भेटिए

बुटवल । दाङको तुलसीपुरमा एकै घरका दुई दाजुभाइ सडेगलेको अवस्थामा मृत भेटिएका छन् । मृत अवस्थामा भेटिएकाहरुमा ३४ वर्षीय पूर्णबहादुर बस्नेत र उनका भाइ ३० वर्षीय टेकबहादुर बस्नेत रहेका छन् ।
जिल्लाको तुलसीपुर उपमहानगरपालिका–१६ डोक्रेना घर भइ तुलसीपुर उपमहानगरपालिका ६ गाइडहरमा कोठा भाडामा लिएर बस्दै आएका उनीहरु सोमबार मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, मृतक पूर्णबहादुर परिवारका साइला र टेकबहादुर कान्छा सन्तान हुन् । उनीहरू बस्दै आएको घरमा घरधनी भने बस्ने गरेका थिएनन् ।
मृतक टेकबहादुरकी श्रीमती रुकुम पश्चिमस्थित माइतीमा गएकाले उनी फर्किएपछि मात्रै शव निकाल्ने प्रहरीले जनाएको छ ।
मंगलबार शव निकालेर परीक्षण गरेपछि घटनाका बारेमा विस्तृत विवरण आउने जनाइएको छ ।