धनगढी आगलागी: १७ करोड ९७ लाख बराबरको क्षति
धनगढी । धनगढीमा गएराति भएको आगलागीबाट १७ करोड ९८ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
धनगढी उपमहानगरपालिका–१ को एलएनचोकमा रहेको भण्डारी सुज सेन्टरमा विद्युत सर्ट भई आगलागी हुँदा सो रकम बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, आगलागीबाट सारथी अस्पताल प्रालिको पाँच करोड ५० लाख, गरिमा पोलिक्लिनिकको ३० लाख, सदीक्षा इन्टरप्राइजेजको एक करोड २० लाख, भट्ट सप्लायर्सको ७० लाख, भण्डारी सुज सेन्टरको ५० लाख रुपैयाँ बराबरको सामान जलेर नष्ट भएको हो ।
यसैगरी, भण्डारी जनरल स्टोरको चार करोड २५ लाख, मधुमाला कलेक्सनको ६० लाख, सुभिक्षा बेबी सपको ९० लाख, खाद्य गोदामको चार करोड बराबरको भौतिक संरचनामा क्षति भएको छ भने दुई लाख २० हजार रुपैयाँ बराबरको कर्मचारीको स्कुटर जलेर नष्ट भएको छ ।
उक्त आगो धनगढी उपमहानगरपालिका, गोदावरी र पुनर्बास नगरपालिकाका चार वटा दमकलको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।
आगलागीबाट मानवीय क्षति भने भएको छैन ।
