चिसोका कारण जाजरकोटमा दुई जनाको मृत्यु

तु खबर संवाददाता
२०८० मंसिर १, शुक्रबार १५:४३
सांकेतिक तस्वीर

जाजरकोट । जाजरकोटमा चिसोका कारण दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा भेरी नगरपालिका–२ का ८८ वर्षीय धुलेश्वर कार्की र बारेकोट गाउँपालिका–४ जिरीका नरेन्द्रबहादुर सिंह रहेका छन् ।

भूकम्पले घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका दुबै जना दमका दीर्घरोगी थिए । उनीहरुको चिसोका कारण रोगले च्याप्दै गएपछि मृत्यु भएको जनाइएको छ ।

बारेकोट गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीका अनुसार, गत कात्तिक १७ गते शुक्रबार राति आएको शक्तिशाली भूकम्पपश्चात घर बस्न नमिल्ने भएपछि जाजरकोटका ३४ हजारभन्दा बढी घरपरिवार त्रिपालमुनि बस्दै आएका छन् ।

त्रिपालमुनिको बसाइँले बालबालिका, सुत्केरी, दीर्घरोगी र वृद्धवृद्धा बढी प्रभावित भएका उनले जानकारी दिए ।

चिसोका कारण यसअघि पनि गत साता नलगाड–४ मा दुई जना दीर्घरोगीको मृत्यु भएको थियो ।