मकवानपुर गोल्डकपको आय–व्यय सार्वजनिक

तु खबर संवाददाता
२०८० कार्तिक २५,शनिबार १५:३६

मकवानपुर । पाँचौ संस्करणको ‘स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्डकप’ फुटबल प्रतियोगिता–२०७९ को आय र व्यय सार्वजनिक गरिएको छ ।

मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा गत माघ २८ गतेदेखि फागुन १० गतेसम्म संचालन भएको उक्त प्रतियोगिताको आय र व्यय शनिबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो ।

हेटौंडामा आयोजित पत्रकार सम्मेलनमा संघ अध्यक्ष टीकाराम लामाले सो प्रतियोगितामा एक करोड १९ लाख २२ हजार रुपैयाँ खर्च भएको जानकारी दिए ।

यस्तै, प्रतियोगितामा करिब १ करोड २१ लाख ३३ हजार रुपैयाँ आम्दानी भएको थियो । जसमा प्रदेश खेलकुद विकास समितिबाट ५० लाख, हेटौंडा उपमहानगरपालिकाबाट २५ लाख, टिकटबाट ९ लाख ९१ हजार रुपैयाँ, विभिन्न गाउँपालिकाबाट २५ लाख ६९ हजार रुपैयाँ तथा हेटौंडा स्कुल अफ म्यानेजेमन्टबाट ६ लाख ९० हजार रुपैयाँ प्राप्त भएको हो ।

प्रतियोगिता हेटौंडा–५ स्थित पिप्लेक्याम्पा रंगशालामा भएको थियो । सो प्रतियोगिताको विजेताले १५ लाख, उपविजेताले १० लाख, सर्वोत्कृष्ट खेलाडीलाई ६ लाख ९० हजार रुपैयाँ बराबरको बुलेट बाइक तथा खेलाडीको टीएडीए, यातायातमा ३२ लाख रुपैयाँ खर्च भएको अध्यक्ष लामाले बताए ।