मकवानपुर गोल्डकपको उपाधी आर्मी क्लबलाई

तु खबर संवाददाता
२०७९ जेष्ठ ३०,सोमबार १९:०१

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा सम्पन्न चौथो संस्करणको स्थानीय तह सहीद स्मृति अन्तराष्ट्रिय मकवानपुर गोल्डकपको उपाधी त्रिभुवन आर्मी क्लबले जितेको छ । सोमबार सम्पन्न प्रतियोगितामा घरेलु टोली विजयी युथ क्लब हेटौंडालाई २–१ गोल अन्तरले पराजित गर्दै आर्मीले उपाधी जितेको हो ।

योसँगै मकवानपुर गोल्डकपको उपाधी आर्मीले दोस्रो पटक हात पारेको छ । आर्मीले यसअघि, २०७७ सालमा भएको तेस्रो मकवानपुर गोल्डकपको फाईनलमा खेलमा पनि घरेलु टोलीलाई हराउँदै आर्मीले उपाधी हात पारेको थियो ।

आर्मी क्लबले उपाधी शिल्डसँगै १५ लाख रुपैयाँ हात पारेको छ भने उपविजेता बनेको हेटौंडाले शिल्डसँगै १० लाख रुपैयाँ हात पारेको छ । मकवानपुरका स्थानीय तहहरुको मुख्य प्रायोजनमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर ५ पिप्ले रंगशालामा सम्पन्न भएको उक्त प्रतियोगितामा १२ वटा टिम सहभागी थियो ।