मकवानपुर गोल्डकप : आज बीएफसी र चर्चव्वाईज क्लबबीच प्रतिस्प्रर्धा हुने

तु खबर संवाददाता
२०७९ जेष्ठ २०,शुक्रबार ०८:४३
file-photo

मकवानपुर । चौथो संस्करणको स्थानीय तह सहीद स्मृति अन्तराष्ट्रिय मकवानपुर गोल्डकप प्रतियोगिता अन्तरगत आज (शुक्रबार) चितवनको बीएफसी क्लब र काठमाडौंको चर्चव्वाईज क्लबबीच प्रतिस्प्रर्धा हुने भएको छ । उक्त प्रतियोगिता हेटौंडा उपमहानगरपालिका वडा नम्वर ५ स्थित पिप्ले रंगशालामा हुनेछ ।

बिहीबारबाट सुरु भएको मकवानपुर गोल्डकपको पहिलो दिन सिमराको नव जनजागृति क्लबले सर्लाहीको बागमती युवा क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै विजयी हासिल गरेको थियो ।

नव जनजागृतीका लागि खेलको ८ औं मिनेट विवेक चौधरीले गोल गर्दै अग्रता दिलाए । खेलको दोस्रो हाफको ३४ औं मिनेटमा सिमराका क्रिपाकान्त चौधरीले गरेको गोल विजयी गोल बन्यो ।

प्रतियोगितामा सिमराका विवेक चौधरी ‘म्यान अफ दी म्याच’ घोषित हुँदै १० हजार प्राप्त गरे । योसंगै सिमरा प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेको छ ।

आगामी ३० गतेसम्म संचालन हुने उक्त प्रतियोगितामा विजेता टोलिले शिल्ड, मेडल र प्रमाणपत्रसहित १५ लाख रुपैयाँ र उपविजेता टोलिले १० लाख रुपैयाँ प्राप्त गर्ने छन् । यस्तै, सर्वोकृष्ट खेलाडीलाई बुलेट बाइक, विद्यागत उत्कृष्ट खेलाडीलाई २५ हजार रुपैयाँ र हरेक खेलमा म्यान अफ दि म्याच खेलाडीलाई १० हजार रुपैयाँ प्राप्त हुनेछ ।