दलित महिला जनप्रतिनिधिहरुको साझा मञ्च गठन
मकवानपुर । मकवानपुरको हेटौंडामा बिहीबार दलित महिला जनप्रतिनिधिहरुको साझा मञ्च गठन तथा छलफल कार्यक्रम भएको छ ।
उक्त कार्यक्रम दलित महिला संघ मकवानपुरको आयोजना तथा फाउन्डेसन अफ सोसाइटीको सहयोगमा भएको हो ।
नव अधिकार लोकतन्त्र, राजनीतिक, सामाजिक प्रतिष्ठा तथा प्रबन्धको लागि महिला जनप्रतिनिधिहरुको साझा मञ्चको गठन तथा छलफल कार्यक्रम भएको हो ।
कार्यक्रममा हेटौंडा उपमहानगरपालिका भित्र रहेका १९ वटै वडाको प्रतिनिधित्व गर्दै दलित महिला जनप्रतिनिधिहरुको साझा मञ्चको संयोजकमा हेटौंडा–१६ नम्बर वडाकी वडा सदस्य संगीता विश्वकर्मालाई चयन गरिएको छ ।
कार्यक्रम दलित महिला संघ मकवानपुरकी अध्यक्ष पवित्रा विश्वकर्माको सभाध्यक्षतामा एवम् हेटौंडा उपमहानगरपालिकाका सामाजिक महाशाखा प्रमुख भीमप्रसाद तिमल्सिनाको प्रमुख आतिथ्यतामा भएको हो ।
कार्यक्रममा हेटौंडा उपमहानगरपालिका बालबालिका तथा महिला विकास शाखा प्रमुख शान्ति विश्वकर्मा, हेटौंडा उपमहानगरपालिका कार्यपालिका सदस्य इश्वरी रसाइली लगायत १९ वटै वडाका दलित महिला वडा सदस्यहरुको सहभागिता रहेको थियो ।
