बागमतीका ४४.१ प्रतिशत परिवारलाई मात्रै कृषि आम्दानीले खान पुग्छ

तु खबर संवाददाता
२०८० कार्तिक २३, बिहीबार ०९:५६

मकवानपुर । बागमती प्रदेशमा कृषि पेशामा आवद्ध ४४ दशमलव १ प्रतिशत परिवारलाई मात्रै कृषिको आम्दानीले खान पुग्ने पाइएको छ ।

प्रदेशमा ७२ दशमलव ६ प्रतिशत परिवारको आम्दानीको मुख्य स्रोत कृषि रहेपनि कृषिको आम्दानीले ४४ दशमलव १ प्रतिशतलाई मात्रै खान पुग्ने राष्ट्रिय तथ्याङ्क कार्यालयले जारी गरेको कृषि गणना २०७८ को प्रतिवेदनमा उल्लेख छ ।

प्रहेशमा कृषि पेशामा आवद्ध ५५ दशमलव ९ प्रतिशत परिवारलाई भने कृषिको आम्दानीले खान नपुगेको राष्ट्रिय तथ्याङ्क कार्यालयका निर्देशक बद्रीकुमार कार्कीले जानकारी दिए ।

प्रदेशमा १५ लाख ७० हजारभन्दा बढी घरपरिवार रहेको छ । तीमध्ये ६ लाख ६८ हजार १७७ कृषक परिवार रहेको र २ लाख ८२ हजार २९२ हेक्टर जमिन कृषिमा प्रयोग भएको निर्देशक कार्कीले बताए ।

बागमती प्रदेशमा बगैँचाको रुपमा आँप ५३२ हेक्टरमा, केरा एक हजार १२० हेक्टरमा, सुन्तला ६८८ हेक्टरमा, कागती ४६० हेक्टरमा, स्याउ ८० हेक्टरमा लगाइएको छ ।

यसैगरी, प्रदेशमा गाईगोरु र राँगाभैँसी भन्दा खसीबाख्रा, सुङ्गुर र बङ्गुर पाल्नेको संख्या धेरै रेहेको निर्देशक कार्कीले बताए ।