बागमतीका सामुदायिक विद्यालयलाई बस खरिदमा अनुदान
मकवानपुर । बागमती प्रदेशभित्र रहेका २७ वटा सामुदायिक विद्यालयहरुलाई बस खरिदमा अनुदानका लागि सम्झौता भएको छ ।
प्रदेश सरकारको चालु आर्थिक वर्ष २०८०–०८१ को सामुदायिक विद्यालयलाई बस खरिदमा अनुदान कार्यक्रम अन्तर्गत प्रदेशको विभिन्न जिल्लामा रहेका सामुदायिक विद्यालयलाई बस खरिदमा अनुदानका लागि सम्झौता भएको हो ।
प्रदेशको शिक्षा विकास निर्देशनालय र विद्यालय व्यवस्थापन समितिबीच बुधबार हेटौंडामा आयोजित एक कार्यक्रममा विद्यालय बस खरिदमा अनुदानका लागि सम्झौता भएको निर्देशनालयका निर्देशक दीपेन्द्र सुवेदीले जानकारी दिए ।
उनका अनुसार, विद्यालय बस खरिद गर्न मन्त्रालयले २७ वटा विद्यालयलाई प्रतिविद्यालय २५ लाख रुपियाँ अनुदान दिने सम्झौता भएको हो । उक्त सम्झौता अनुरुप चालु आर्थिक वर्षभित्रमा बस खरिद गरिसक्नुपर्नेछ ।
बस खरिद सम्झौतासँगै अनुदानको ६० प्रतिशत पहिलो चरणमा र बाँकी ४० प्रतिशत बस आयातको अनुज्ञापत्र प्राप्त भएपछि दिइने निर्देशक सुवेदीले बताए ।
