प्रधानमन्त्री दैवी प्रकोप कोषमा ५ करोड ९५ लाख रकम उपलब्ध

तु खबर संवाददाता
२०८० कार्तिक २२,बुधबार १७:२४
file-photo

काठमाडौँ । भूकम्प पीडितहरुका लागि प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा ५ करोड ९५ लाख रुपैयाँ रकम उपलब्ध भएको छ ।

गत आइतबारदेखि मंगलबारसम्ममा उक्त रकम कोषमा जम्मा भएको प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयको आर्थिक प्रशासन शाखाका प्रमुख सूर्य भण्डारीले जानकारी दिए ।

उनका अनुसार, सहयोगी दाताहरुबाट प्रधानमन्त्रीलाई हस्तान्तरण भएको चेक सम्बन्धित बैकमा क्लियरेन्सका लागि पठाइएको छ ।

गत कात्तिक १७ गते राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परेर ठूलो संख्यामा मानवीय क्षतिका साथै भौतिक क्षति पुगेको छ ।

भूकम्पमा परेका पीडितलाई राहत सहयोगका लागि सरकारले देश र विदेशमा रहेका नेपालीलाई सहयोगका लागि अपिल गरेको थियो ।