हेटौंडामा अनुगमन टोलीद्वारा २ वटा पसल संचालकलाई कारबाही
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडा उपमहानरपालिका बजार क्षेत्रमा सोमबार अनुगमन गरिएको छ । संयुक्त बजार अनुगमन टोलीले उपमहानगरपालिका क्षेत्रभित्र संचालित विभिन्न ६ वटा पसल तथा व्यवसायको अनुगमन गरेको हो ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी झरेन्द्र प्रसाद चापागाईँको नेतृत्वमा गरिएको अनुगमन टोलीले सो क्रममा उपभोक्ता हित तथा कानुन विपरीत काम गर्ने बजार क्षेत्रमा रहेको दुई वटा पसललाई कारबाही गरेको छ ।
ती पसलहरुलाई क्रमशः १० हजार रुपैयाँ र ५ हजार रुपैयाँ रकम जरिवानासहित कारबाहीको दायरामा ल्याएको मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी चापागाईँले जानकारी दिए ।
सहायम प्रमुख जिल्ला अधिकारी चापागाईँका अनुसार, बजारमा बढ्दो चिनीको अभाव भएको गुनासो आएपछि गरिएको अनुगमन टोलीले उपमहानगरपालिका क्षेत्रमा रहेको दुई वटा पसलबाटमा मात्रै २८३ बोरा चिनी भेटिएको र उक्त चिनी बजारमा नियमित रूपमा विक्री वितरण गर्न निर्देशन समेत दिइएको छ ।
यस्तै, सोही अनुगमन टोलीले अनुगमनका क्रममा १ पसलबाट ७ हजार ९३० रुपैयाँ बराबरको म्याद गुज्रिएका सामान पनि नष्ट गरिएको थियो ।
अनुगमन टोलीमा आन्तरिक राजस्व कार्यालय मकवानपुर, घरेलु तथा साना उद्योग कार्यालय मकवानपुर, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय मकवानपुर, हेटौंडा उपमहानगरपालिका, नगर कार्यपालिकाको कार्यालय हेटौंडा, जिल्ला प्रहरी कार्यालय मकवानपुर, मकवानपुर उद्योग वाणिज्य संघ, उपभोक्ता हित संरक्षण मञ्चको प्रतिनिधिहरु रहेका थिए ।
