हेटौंडामा बिहानै भेटिएको शवको सनाखत
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ११ बनदेवी मन्दिर नजिकै आज बिहान भेटिएको शवको सनाखत भएको छ ।
उक्त शव बागमती प्रदेश भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलालका पीएसओ ४० वर्षीय यमबहादुर सुवेदी रहेको मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।
प्रहरी नायव उपरीक्षक भण्डारीका अनुसार, मृतक सुवेदी मनहरी गाउँपालिका वडा नम्वर ७ बिजौनाका हुन् । उनी इलाका प्रहरी कार्यालय खानीखोला धादिङ दरबन्दी भई हाल मन्त्री दुलाललको पीएसओ रहेका थिए ।
मृतक सुवेदी आज बिहान साढे ६ बजेको समयमा सालको रुखमा कालो पेटिको पासो लगाई झुण्डिएको अवस्थामा फेला परेका थिए ।
उनको शव पोष्टमार्टमको लागि हाल हेटौंडा अस्पतालमा ल्याइएको र घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए ।
