हेटौंडामा बजार अनुगमन, तीन वटा पसल संचालकलाई कारबाही

तु खबर संवाददाता
२०८० कार्तिक २१, मंगलवार ०९:०४

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडा उपमहानरपालिका बजार क्षेत्रमा सोमबार अनुगमन गरिएको छ । संयुक्त बजार अनुगमन टोलीले उपमहानगरपालिका क्षेत्रभित्र संचालित विभिन्न ९ वटा पसल तथा व्यवसायको अनुगमन गरेको हो ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी झरेन्द्र प्रसाद चापागाईँको नेतृत्वमा गरिएको अनुगमन टोलीले सो क्रममा उपभोक्ता हित तथा कानुन विपरीत काम गर्ने बजार क्षेत्रमा रहेको तीन वटा पसललाई कारबाही गरेको छ ।

ती पसलहरुलाई १ लाख १० हजार रुपैयाँ जरिवानासहित कारबाहीको दायरामा ल्याएको मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी चापागाईँले जानकारी दिए ।

सहायम प्रमुख जिल्ला अधिकारी चापागाईँका अनुसार, बजारमा बढ्दो चिनीको अभाव भएको गुनासो आएपछि गरिएको अनुगमन टोलीले ती तीन वटा पसलमा मात्रै ५२२ बोरा चिनी भेटिएको र उक्त चिनी बजारमा नियमित रूपमा विक्री वितरण गर्न निर्देशन समेत दिइएको छ ।

यस्तै, सोही अनुगमन टोलीले १ लाख २२ हजार मुल्य बराबरको म्याद गुज्रिएका सामान पनि नष्ट गरिएको थियो ।