आममाफी पाएका रिगल नेपालगञ्चबाट पक्राउ

तु खबर संवाददाता
२०८० कार्तिक १६,बिहीबार १७:३०

काठमाडौं । संविधान दिवसको अवसरमा आममाफी पाएका योगराज ढकाल (रिगल) पक्राउ परेका छन् । उनलाई बिहीबार अपराह्न नेपालगञ्जबाट पक्राउ गरेको बाँके प्रहरीले जनाएको छ ।

बिहीबार सर्वोच्च अदालतले रिगलको कैद मिनाहा गर्ने सरकारको निर्णय बदर गर्दै भारती शेर्पाको पक्षमा फैसला सुनाएको थियो ।

सो फैसलासँगै न्यायाधीशहरु क्रमशः ईश्वरप्रसाद खतिवडा, सपना प्रधानमल्ल र कुमार चुडालको संयुक्त इजलासले रिगललाई तत्काल पक्राउ गरेर थुनामा राख्न परमादेश समेत दिएको थिए । अदालतको परमादेशलगतै उनलाई पक्राउ गरिएको हो ।

राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवसको अवसरमा मन्त्रिपरिषद्को सिफारिसमा रिगललाई आममाफी दिएका थिए । तर, रिगलले हत्या गरेका चेतन मानन्धरकी पत्नी भारतीले सरकारको निर्णय खारेज हुनुपर्ने माग राख्दै सर्वोच्च अदालतमा रिट दर्ता गराएकी थिइन् ।

सर्वोच्चको उक्त फैसलापछि पक्राउ परेका उनी अब ११ वर्ष ११ महिना ५ दिन जेलमा बस्नुपर्ने भएको जनाइएको छ ।