हेटौंडामा व्यवसाय दर्ता शिविर सुरु
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा सोमबारबाट व्यवसाय दर्ता शिविर सुरु गरिएको छ । करको दायरा बाहिर रहेर व्यवसाय संचालन गरिरहेका व्यवसायीहरुलाई मध्येनजर गर्दै सोमबार उक्त शिविर सुरु गरिएको हो ।
हेटौंडा उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपालेले उपमहानगरपालिकाको विभिन्न वडामा संचालन हुने उक्त शिविर हेटौंडा–१९ बाट सुरु गरेको जानकारी दिए । राजस्व परामर्श समितिले अनुगमका क्रममा वडाहरुका दर्ता बिना नै व्यवसाय संचालन गरी राजस्वको दायरा बाहिर रहेको पाएपछि उपमहानगरपालिकाले उक्त शिविर संचालन गरेको उनले बताए ।
प्रवक्ता न्यौपानेका अनुसार, शिविर संचालन भएसँगै अब व्यवसाय दर्ताको समय जति भएपनि पछिल्लो तिन वर्षको शुल्क तिरेर उपमहानगरमा व्यवसाय दर्ता गर्न पाउँनेछन् ।
हेटौंडा १९ नम्बर वडा कार्यालयमा आयोजित उक्त शिविरको उद्घाटन हेटौंडा उपमहानगरपालिकाकी नगर प्रमुख मीनाकुमारी लामाले गरेकी हुन् ।
शिविरको पहिलो दिन आज ६ जना व्यवसायीलाई दर्ता प्रमाणपत्र हस्तान्तरण गरिएको थियो । यस्तै, शिविरमा ९ जनालाई प्रमाण पत्र वितरण रगरिएको थियो भने १५ वटा व्यवसाय दर्ताको प्रकृयामा रहेको वडा अध्यक्ष नरनाथ सुवेदीले बताए ।
