मकवानपुरमा नयाँ फुटबल क्लब छनोट प्रतियोगिता हुने

तु खबर संवाददाता
२०८० कार्तिक १३,सोमबार १६:१५

मकवानपुर । मकवानपुरमा नयाँ फुटबल क्लब छनोट प्रतियोगिता हुने भएको छ । उक्त प्रतियोगिता मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा हुने भएको हो ।

संघका महासचिव छवि सुवेदीले जिल्ला लिग खेल्न पाउने गरी २ वटा क्लब छनोट गर्न प्रतियोगिताको आयोजना गर्न लागिएको जानकारी दिए ।

उनका अनुसार, नकआउट प्रणालीमा आयोजना हुने उक्त प्रतियोगिता आगामी मंसिर २३ गतेदेखि सुरु हुनेछ । संघमा २८ वटा क्लब दर्ता छन् । तीमध्ये उक्त प्रतियोगितामा १५ देखि २० वटा टिम सहभागी हुने अनुमान गरिएको छ ।

सो प्रतियोगिता मकवानपुर जिल्ला फुटबल संघका सदस्य आलोक स्याङ्तानको संयोजकत्वमा हुने महासचिव सुवेदीले बताए ।

प्रतियोगिताको उपाधि विजेता र उपविजेताले शिल्ड, मेडल तथा ट्रफी प्राप्त गर्नेछन् ।