तनहुँमा अरिङ्गालले टोकेर एक जनाको मृत्यु

तु खबर संवाददाता
२०८० कार्तिक १३, सोमबार १०:३३
सांकेतिक तस्वीर

तनहुँ । तनहुँमा अरिङ्गालले टोकेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भानु नगरपालिका–४ बस्ने ३२ वर्षीय राजकुमार तामाङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

प्रहरीका अनुसार, भानु नगरपालिका–७ स्थित जंगलमा अरिङ्गाल पोल्ने क्रममा दुई जना घाइते भएका थिए । घाइते दुवै जनालाई लक्ष्मी अस्पताल डुम्रेमा प्राथमिक उपचारपछि थप उपचारका लागि चितवन मेडिकल कलेजमा ल्याइएको थियो ।

राजकुमारको सोही अस्पतालमा उपचारको क्रममा आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै, अरिङ्गालले टोकेर घाइते भएका भानु नगरपालिका–४ फलाखेत बस्ने २४ वर्षीय धनबहादुर तामाङको सोही अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीले घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।