मकवानपुरमा डेंगू संक्रमितको संख्या ६२० पुग्यो

तु खबर संवाददाता
२०८० आश्विन २९, सोमबार १८:१०
file-photo

मकवानपुर । मकवानपुरमा गत साउन १ गतेदेखि हालसम्म डेंगू संक्रमितको संख्या ६२० पुगेको छ ।

जिल्लामा सोमबार थप २ जनामा डेंगू संक्रमण भएसँगै संक्रमितको कूल संख्या ६२० पुगेको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

सोमबार जिल्लाको हेटौंडा उपमहानगरपालिकाका २ जनामा डेंगू संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य कार्यालयका अनुसार, जिल्लामा हालसम्म संक्रमित भएकामध्ये सबैभन्दा धेरै संक्रमित हेटौंडा उपमहानगरपालिमा रहेका छन् । त्यहाँ ४१६ जनामा डेंगू संक्रमण पुष्टि भएको छ ।

यसैगरी, थाहानगरपालिकाका दुई जना, मकवानपुरगढी गाउँपालिकाका १५ जना, बागमती गाउँपालिकाका २४ जना, मनहरी गाउँपालिकाका ६१ जना, इन्द्रसरोवर गाउँपालिकाका ४ जना, भीमफेदी गाउँपालिकाका ३१ जना, बकैया गाउँपालिकाका १८ जना र राक्सिराङ गाउँपालिकामा २ जनामा डेंगू संक्रमण पुष्टि भएको छ ।

यस्तै, सो अवधिमा हेटौंडामा अस्पतालमा ४० जना र अन्य जिल्लाका ७ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

त्यस्तै, सो अवधिमा जिल्लामा डेंगू संक्रमणका कारण एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका–१३ का एक जना पुरुष रहेका छन् ।