नक्कली नोट बनाउन प्रयोग हुने सामानसहित पक्राउ

तु खबर संवाददाता
२०८० आश्विन २५, बिहीबार १७:०९
सांकेतिक तस्बिर

नवलपरासी (पश्चिम) । नवलपरासीको बर्दघाट नगरपालिका–४ फलफुल चोकस्थित विनय रेष्टुरेन्टबाट नेपाली १ हजार दरको १ सय ३९ थान नक्कली नोट, नक्कली नोट बनाउन प्रयोग हुने सामानहरुसहित प्रहरीले बुधबार दिउँसो दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा नवलपरासी पूर्व बुलिङटार गाउँपालिका–६ ठिमुरे बस्ने ३० वर्षीय कृष्ण बहादुर बिक र तनहुँ ऋषिङ गाउँपालिका–३ दानश्री बस्ने २५ वर्षीय सुरज बिक रहेका छन् ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरीले उनीहरू बसेको उक्त रेष्टुरेन्टको कोठामा तलासी गर्दा नक्कली नोट र नक्कली नोट बनाउन प्रयोग हुने स्ट्याम्प प्याड ३ थान, चम्किलो स्टिकर टेप ६ थान, ग्लु १० थान, मसी, ब्रस, फलामे स्केल, कैची लगायतका विभिन्न सामानसहित पक्राउ गरेको हो ।

पक्राउ परेका उनीमाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।