अवैध लागूऔषधसहित सात जना पक्राउ

तु खबर संवाददाता
२०८० आश्विन १६,मंगलवार १६:५९
सांकेतिक तस्बिर

काठमाडौं । प्रहरीले विभिन्न स्थानबाट लागूऔषधसहित सात जनालाई पक्राउ गरेको छ । प्रहरीले कैलाली, सुर्खेत र कास्की जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको छ ।

प्रहरीले कैलालीको गोदावरी नगरपालिका–६ घुएरा बस्ने २६ वर्षीय जय किसन चौधरीलाई अवैध लागूऔषध खैरो हेरोईन ८ सय ६० मिलिग्रामसहित सोमबार दिउँसो पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी कैलाली र अस्थायी प्रहरी पोष्ट श्रीपुरबाट खटिएको संयुक्त टोलीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

यस्तै, सुर्खेतको बिरेन्द्रनगर नगरपालिका–८ खजुरा बस्ने ५५ वर्षीय बालसरा कार्कीसमेत २ जनालाई अवैध लागूऔषध ब्राउनसुगर ४ सय ४० मिलिग्राम, नगद २ लाख १९ हजार रूपैयाँ र सानो डिजिटल तराजु १ थानसहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो सुर्खेत, प्रदेश ब्यूरो र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको संयुक्त टोलीले बालसराको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।

यसैगरी, प्रहरीले कास्कीको पोखरा महानगरपालिकाका विभिन्न स्थानबाट अवैध लागूऔषध ब्राउनसुगर १ ग्राम ६ सय ८८ मिलिग्रामसहित पोखरा महरनगरपालिका–७ अन्नपूर्ण टोल बस्ने तनहुँ बन्दिपुर गाउँपालिका–५ घर भएका ४० वर्षीय आईतसिंह गुरूङ समेत ४ जनालाई सोमबार दिउँसो पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो पोखरा र जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

ती सबै घटनाका बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।