हत्या गरेर फरार तीन जना पक्राउ

तु खबर संवाददाता
२०८० आश्विन १६, मंगलवार १०:१८

झापा । रेस्टुरेन्टमा मादक पदार्थ सेवन गरी वादविवाद हुँदा छुरा प्रहार गरी एक जनाको हत्या गरेर फरार रहेका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा झापाको दमक नगरपालिका–७ घर भएका २२ वर्षीय सनमलाई राई, दमक नगरपालिका–१ बस्ने आनन्द भन्ने २२ वर्षीय राजकुमार भुजेल र दमक नगरपालिका–७ बस्ने रेहान भन्ने १८ वर्षीय सवास आलम रहेका छन् ।

प्रहरीका अनुसार, गत असोज १२ गते दमकको कुमाल चोकमा रहेको रुवेल माछा फ्राई एन्ड रोस्ट हाउसमा मादक पदार्थ पिउँदा विवाद हुँदा सनम राईले लुकाइरहेको छुरा प्रहार गरी ३८ वर्षीय गोविन्द लिम्बुको हत्या गरेका थिए ।

घटनापछि प्रहरीले विशाल कुमालसहित ८ जनलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको थियो । सो घटनामा फरार रहेका थप तीन जनालाई मोरङको उर्लाबारीबाट प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले घटनामा प्रयोग भएको छुरा पनि विराटनगरको शिक्षादीप कलेजको पार्किङ छेउमा रहेको झाडीमा फेला पारेको छ । हतियार व्यवस्थापनमा सहयोग गर्ने मफुद मियालाई पनि जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको छ ।