चितुवाको छालासहित पाँच जना पक्राउ

तु खबर संवाददाता
२०८० आश्विन १६, मंगलवार ०९:२१
सांकेतिक तस्बिर

काठमाडौं । नेपाल प्रहरीले संरक्षित वन्यजन्तु चितुवाको छालासहित पाँच जनालाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टोलीले संरक्षित वन्यजन्तु चितुवाको आखेटोपहार अवैध रुपमा ओसारपसार तथा बिक्री वितरण गर्ने पाँच जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा भोजपुरका ३९ वर्षीय लक्ष्मण विश्वकर्मा, २० वर्षीय विनोद कालिकोटे, ३४ वर्षीय दलबहादुर आलेमगर, धादिङ गल्छीका २८ वर्षीय उमेश दुधराज र २० वर्षीय प्रेमबहादुर विक रहेका छन् ।

संरक्षित वन्यजन्तु चितुवाको छाला ओसारपसारमा सङ्लग्न उनीहरुलाई ललितपुरको बोधिग्राम टोलबाट पक्राउ गरिएको हो । पक्राउ परेका पाँचै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि डिभिजन वन कार्यालय हात्तिवनमा पठाइएको जनाएको छ ।