गृहसचिवद्वारा आन्दोलन फिर्ता लिन चिकित्सकहरुलाई आग्रह
काठमाडौं । गृह मन्त्रालयका सचिव दिनेश भट्टराईले आन्दोलन फिर्ता लिन चिकित्सकहरूलाई आग्रह गरेका छन् ।
शुक्रबार शिक्षा, स्वास्थ्य तथा सञ्चार प्रविधि समितिको बैठकमा आन्दोलनरत चिकित्सकहरूलाई सम्बोधन गर्दै यस्तो आग्रह गरेका हुन् । उनले चिकित्सकहरुले गरेको माग सरकारले पूरा गरेको बताउँदै आन्दोलन फिर्ता लिई उपचारमा फर्कन आग्रह गरे ।
विभिन्न अस्पतालमा चिकित्सक कुटपिटमा संलग्न व्यक्तिलाई ८ घण्टाभित्र पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाएको बताउँदै आन्दोलनरत चिकित्सकले उठाएका आधारभूत माग सरकारले पूरा गरिसकेको बताए ।
समितिको बैठकमा चिकित्सकहरूका विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूले सरकारसँग सुरक्षाको माग गरेका छन् ।
अस्पतालहरुमा चिकित्सकहरुमाथि हातपात हुन थालेपछि आवासीय चिकित्सकहले केही दिनयता काठमाडौंमा विरोध प्रदर्शन गर्दै आएका छन् ।
चिकित्सकहरुले कार्यस्थलमा सुरक्षाको माग गर्दै शुक्रबार पनि नयाँबानेश्वर–माइतीघर सडकमा बसेरै प्रदर्शन गरेका छन् । उनीहरु माइतीघरबाट नयाँबानेश्वर चोकसम्म अएर सडकमै बसेर प्रदर्शन जारी राखेका हुन् ।
उनीहरूले चिकित्सकमाथिको कुटपिट बन्द गर, ‘प्रजनन् सम्बन्धी डाक्टरको जीवनको रक्षा गर’ का नारा लगाएका छन् ।
