हेटौंडा जेसीजको कार्यक्रममा सहभागी हुन गृहमन्त्री श्रेष्ठ हेटौंडा आउने

तु खबर संवाददाता
२०८० आश्विन ११,बिहीबार ०९:३९
file_photo

मकवानपुर । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ हेटौंडा आउने भएका छन् ।  हेटौंडा जेसीजको आयोजनामा असोज १५ गते हुने ‘पब्लिक स्पिकिङ प्रतियोजिता’ कार्यक्रमलाई सम्बोधन गर्न श्रेष्ठ हेटौंडा आउन लागेका हुन् ।

सो अवसरमा गृहमन्त्री श्रेष्ठले प्रतियोगिताको फाइनल प्रतिस्पर्धाको अवलोकन गर्नुका साथै समापन कार्यक्रमलाई सम्बोधन गर्ने हेटौंडा जेसीजका अध्यक्ष श्रवणकुमार वर्तौलाले जानकारी दिए ।

हेटौंडा जेसीजले सन् २०२० बाट वर्षेनी पब्लिक स्पिकिङ प्रतियोगिता आयोजना गर्दै आएको उनले बताए । ‘तत्कालिन अध्यक्ष राजदेव बानियाँ हुनुहुन्थ्यो । म कार्यक्रम संंयोजक थिएँ । युवाहरुको नेतृत्व र व्यक्तित्व विकास होस् भन्ने उद्देश्यले यो प्रतियोगिता आयोजना गर्दै आएका हौँ । १६ देखि ४० वर्ष उमेर समूहका देशैभरका युवाहरुले प्रतियोगितामा सहभागिता जनाउँदै आएका छन् ।’ उनले भने ।

यो वर्ष सहभागी मध्ये १० जनाको छनौट भइसकेको र १५ गते उनीहरुबीच फाइनल प्रतिस्पर्धा हुने उनले बताए । प्रतियोगितामा प्रथम हुनेले रु. २५ हजार, दोेस्रो हुनेले रु. २० हजार र तेस्रो हुनेले रु. १५ हजार नगदसहित प्रमाणपत्र प्राप्त गर्ने छन् । कार्यक्रममा जेसीजका विभिन्न शाखाका अध्यक्षहरुसमेत अतिथिको रुपमा आउने अध्यक्ष वर्तौलाले बताए ।

रमेश पराजुलीले संयोजन गर्ने प्रतियोगिताकोे निर्णायक मण्डलमा घनश्याम घिमिरे, निमेष निखिल, निरा शर्मा र दिपकराज मिश्र रहने जनाइएको छ । सो प्रतियोगितामा क्रमश सन् २०२० मा प्रिन्सि काफ्ले, २०२१ मा रिमा काफ्ले र सन् २०२२ मा गरिमा घिमिरे प्रथम भएका थिए ।