हत्यामा संलग्न रहेको आरोपमा एक जना पक्राउ
सप्तरी । सप्तरीको कञ्चनरुप नगरपालिका–७ बलुवा बस्ने २५ वर्षीय राहुल कुमार चौधरीको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही नगरपालिका–६ बस्ने पशुपति राम रहेका छन् ।
उनलाई असोज ४ गते प्रहरीले पक्राउ गरेको हो । कञ्चनरुप नगरपालिका–९ स्थित सुन्दरी खोलाको पुल नजिक गत भदौ २१ गते राहुलको शव शंकास्पद अवस्थामा फेला परेको थियो ।
उक्त घटनाको अनुसन्धानको क्रममा उक्त दिन राहुल र पशुपतिसँगै रहेको अवस्थामा घडी र मोबाईल तथा आर्थिक प्रलोभनमा परी भारतबाट लागूऔषध खरिद गरी अत्यधिक मात्रामा लागूऔषध सेवन गराई बेहोस अवस्थामा हत्या गरी राहुलको साथमा रहेको मोबाइल र घडी लुटेर पशुपति घरतर्फ गएको खुल्न आएको छ ।
पक्राउ परेका उनी उपर जिल्ला अदालत सप्तरीबाट ७ दिन म्याद थप अनुमति लिई प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
