सुन किन्ने बहानामा चोरी गर्ने गिरोह पक्राउ
काठमाडौं । सुनका गरगहना किन्ने बहानामा सुन पसलमा गई चोरी गरेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ ।
काठमाडौं उपत्यकाका विभिन्न ७ भन्दा बढी स्थानहरूमा स्कुटरको प्रयोग गरी सुन पसलमा गई सुनका गरगहना किन्ने बहाना बनाई चोरी गरी फरार रहेका उनीहरुलाई विभिन्न मितिमा पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौं तारकेश्वर नगरपालिका–९ घर भई काठमाडौं ढुङ्गेधारा बस्ने ३३ वर्षीया रत्न महर्जन, तार्केश्वर नगरपालिका–४ पुरानो गुहेश्वरी बस्ने २२ वर्षीय सुमन पुतुवार, नुवाकोट बेलकोटगढी नगरपालिका–७ घर भई काठमाडौँ महानगरपालिका–१६ नयाँबजार बस्ने ३६ वर्षीय वीरेन्द्र बिक र भारत महाराष्ट्र घर भई काठमाडौँ माछापोखरी बस्ने ३७ वर्षीय हनुमन्त फाँडे रहेका छन् ।
उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । प्रहरीले चोरीमा संलग्न रत्न र सुमनलाई गत शुक्रबार पक्राउ गरेको थियो ।
थप अनुसन्धानको क्रममा अन्य २ जनालाई सोमबार पक्राउ गरेको हो । पक्राउ परेकामध्ये रत्न चोरी गर्ने, सुमन स्कुटर चालक र वीरेन्द्र तथा हनुमन्त चोरी गरेको सुनका गहना खरिद गर्ने व्यक्ति रहेको खुल्न आएको छ ।
पक्राउ परेका उनीहरूलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको जनाएको छ ।
