अवैध लागूऔषधसहित ६ जना पक्राउ

काठमाडौं । प्रहरीले देशको विभिन्न स्थानबाट अवैध लागूऔषधसहित ६ जनालाई पक्राउ गरेको छ । प्रहरीले झापा र उदयपुर जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो ।
प्रहरीले झापाको शिवसताक्षी नगरपालिका–११ दुधेस्थित साकिरा यातायात प्रालिको काउण्टरबाट अवैध लागूऔषध ब्राउनसुगर ९ ग्राम ७ सय ७० मिलिग्रामसहित २ जनालाई सोमबार दिउँसो पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सोही नगरपालिका–१ धरमपुर बस्ने २९ वर्षीय साजन राई र ३५ वर्षीय सुन्दर लावती रहेका छन् । ईलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरीले प्र.१–०१–०१३ प ६५८१ नम्बरको स्कुटर जाँच गर्ने क्रममा उनीहरूले काठमाडौं पठाउन भनि ल्याएको चामलको बोराभित्र लुकाई छिपाई राखेको उक्त लागूऔषध फेला पारी दुवै जनालाई स्कुटरसहित पक्राउ गरेको हो ।
यसैगरी, झापाको मेचीनगर नगरपालिका–६ स्थित पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोईन १ ग्रामसहित बिर्तामोड नगरपालिका–६ बस्ने २० वर्षीय सुजन विश्वकर्मालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टा र ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
यस्तै, प्रहरीले उदयपुर, त्रियुगा नगरपालिका–३ मिलन चोकबाट अवैध लागूऔषध ब्राउनसुगर १ ग्राम ६ सय ८० मिलिग्रामसहित ३ जनालाई सोमबार साँझ पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका–३ ठाडी बस्ने ३२ वर्षीय हरि कुमार निरौला, ४० वर्षीय रतनमणि भन्ने रोहित चौधरी र २४ वर्षीय नागेश्वर चौधरी रहेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
ती सवै घटनाका विषयमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।