पोल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गर्ने पक्राउ
काठमाडौं । पोल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले सोमबार दिउँसो एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा चितवनको भरतपुर महानगरपालिका–६ घर भई काठमाडौं महागरपालिका–३ बसुन्धरा बस्ने ४२ वर्षीय रविन्द्र अधिकारी रहेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरी टोलीले उनलाई काठमाडौं बसुन्धराबाट पक्राउ गरेको हो ।
प्रहरीका अनुसार, अधिकारीले ४ जनालाई वैदेशिक रोजगारका लागि पोल्याण्ड पठाई प्रतिष्ठित फुड प्याकिङमा मासिक १ लाख रुपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितहरूबाट पटक–पटक गरी २७ लाख २५ हजार रूपैयाँ लिई सम्पर्क बिहीन भएका थिए ।
सम्पर्कबिहीन भएका उनलाई पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।
