हेटौंडाबाट अवैध मदिरासहित ५ जना भारतीय नागरिक पक्राउ

मकवानपुर । मकवानपुर प्रहरीले अवैध मदिारासहित हेटौंडा–१५ रातोमाटेस्थित सडकखण्डबाट ५ जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले भन्सार छली ल्याइएको ८५५ बोतल विभिन्न ब्राण्डका मदिरासहित उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।
पक्राउ पर्नेहरुमा भारतको पश्चिमी दिल्ली बस्ने वर्ष २७ का विक्की, वर्ष २५ का राहुल, वर्ष २८ का कुनाल, वर्ष ३१ का नहिम र वर्ष ३७ का राजु रहेका छन् ।
गत असोज ५ र ६ गते २ वटा कारमा फल्स बटम बनाएर मदिरा ल्याएको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए ।
चितवनबाट हेटौंडा हुँदै वीरगञ्जतर्फ जाँदै गरेको अवस्थामा डीएल २ सीएके १३९० र डीएल २ सीएके ७२७३ नम्बरको भारतीय कारलाई शंका लागि चेकजाँच गर्ने क्रममा भन्सार छलेर ल्याइएका रोयल ग्रीन ह्विस्की ३७५ एमएलका ७१५ बोतल र १८० एमएलका १४० बोतल बरामद भएको उनले बताए ।
बरामद मदिरासहित कार र पक्राउ परेकाहरुलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया, बारा पठाइएको उनले बताए ।