मकवानपुर प्रहरीद्वारा चोरी मोटरसाइकलसहित एक जना पक्राउ

तु खबर संवाददाता
२०८० आश्विन ७,आईतवार १६:३७

मकवानपुर । मकवानपुर प्रहरीले चोरीको मोटरसाइकलसहित शनिबार एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सर्लाहीको बरहथवा नगरपालिका वडा नंं.३ मुर्तिया बस्ने ३८ वर्षीय दुर्गाबहादुर स्याङतान रहेको जिल्ला प्रहरी कार्यालय मकवापनुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

प्रहरी नायव उपरीक्षक भण्डारीका अनुसार, स्थाङ्तानलाई हेटौंडा उपमहानगरपालिका वडा नं.१५ रातोमाटेबाट बा. प्र. ०३–००१ प ३४५९ नम्वरको १५५ सिसिको निलो रङको एमटी १५ मोटरसाइकलसहित पक्राउ गरिएको हो ।

उक्त मोटरसाइकल शुक्रबार हेटौंडा उपमहानगरपालिका वडा नं.१० टिसीएन रोड बस्ने २९ बर्षी अशोक कुमार सिहको घरमा पार्किङ्ग गरेर राखेको अवस्थामा चोरी भएको थियो ।

सिहले मोटरसाइकल चोरी भएको प्रहरीमा उजुरी दिएका थिए । सोही उजुरीको आधारमा खोजतलास गर्ने क्रममा प्रहरी चौकी रातोमाटे मकवानपुरबाट खटिएको टोलीले शनिबार राती हेटौंडा–१५ रातोमाटे चेकपोष्ट अगाडिबाट उनलाई नियन्त्रणमा लिएको हो ।

उक्त चोरीको मोटरसाइकलसहित पक्राउ परेका स्याङ्तानलाई आवश्यक कारवाही र अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा ल्याईएको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए ।