काठमाडौंको दुई स्थानमा आगलागी हुँदा एक करोड रुपैयाँ बराबरको क्षति

तु खबर संवाददाता
२०८० आश्विन ७,आईतवार १०:१३
file photo

काठमाडौं । काठमाडौंको सतुंगल र चाबहिल गरी दुई छुट्टाछुट्टै स्थानमा आगलागी हुँदा करिब एक करोड रुपैयाँ बराबरको धनमालको क्षति भएको छ ।

जिल्लाको चन्द्रागिरि नगरपालिका–११ मा रहेको चप्पल कारखानामा आगलागी हुँदा ९० लाख रुपैयाँ भन्दा बढीको र चाबहिलस्थित एक घरमा आगलागी हुँदा १० लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

सतुंगलमा चोककुमार श्रेष्ठले संचालन गरेको चप्पल कारखानामा गएराति विद्युत् सर्ट भएर आगलागी भएको थियो । आगलागीबाट कारखानामा रहेका मेसिन, केमिकल, चप्पल तथा चप्पल बनाउने कच्चा पदार्थ जलेर नष्ट भएको छ ।

आगलागीबाट भएको क्षतिको विवरण संकलनको काम जारी छ । यद्यपि आगलागीबाट ९० लाख रुपैयाँभन्दा बढीको क्षति भएको अनुमान गरिएको चन्द्रागिरि प्रहरीले जनाएको छ ।

यस्तै, गएराति नै काठमाडौंको चाबहिलमा इन्द्रनारायण मानन्धरको घरमा खाना पकाउने ग्यास लिक भएर आगलागी हुँदा करिब १० लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।