लागूऔषधसहित दुई जना पक्राउ

तु खबर संवाददाता
२०८० आश्विन ७,आईतवार १०:०७
सांकेतिक तस्बिर

काठमाडौं । प्रहरीले देशको विभिन्न स्थानबाट अवैध लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले सिरहा र सर्लाही जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले सिरहाको गोलबजार नगरपालिका–६ लक्ष्मी मन्दिर बस्ने ३६ वर्षीय राम एकवाल गिरीलाई अवैध लागूऔषध ब्राउनसुगर ५ सय मिलिग्रामसहित शनिबार बिहान पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त परिमाणको लागूऔषध फेला पारी पक्राउ गरेको हो ।

यस्तै, प्रहरीले सर्लाहीको बागमती नगरपालिका–३ जिरायत बस्ने ५८ वर्षीय भिम बहादुर राई र उनकै श्रीमती ५५ वर्षीया सोम माया थिङलाई अवैध लागूऔषध गाँजा १ केजी ५ सय ४२ ग्रामसहित शनिबार दिउँसो पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको प्रहरीले घर तलासी गर्दा लुकाई छिपाई राखेको उक्त गाँजा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

ती दुबै घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।