खुकुरी प्रहारबाट महिलाको मृत्यु, २ जना घाइते

दाङ । दाङको तुलसीपुरमा शनिबार दिउँसो खुकुरी प्रहारबाट एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका– ११ बेलटाकुराकी भगवती टोलकी अन्दाजी ४३ वर्षीया रीता लामिछाने रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
प्रहरीका अनुसार, शनिबार दिउँसो साढे २ बजे स्थानीय टेकबहादुर हमालले खुकुरी प्रहार गर्दा उनको मृत्यु भएको हो । आफ्नै घर अगाडि रहेका बेला लामिछानेमाथि खुकुरी प्रहार भएको र घटनास्थलमै मृत्यु भएको हो ।
त्यस्तै, खुकुरी प्रहारबाट सोही ठाउँका ४५ वर्षीय वीरबहादुर हमाल र ६५ वर्षीय कमलाकुमारी हमाल घाइते भएका छन् । उनीहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
खुकुरी प्रहार गर्ने टेकबहादुरलाई घरभित्र लुकिरहेको अवस्थामा खुकुरीसहित प्रहरीले पक्राउ गरी घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।