अवैध लागूऔषधसहित दुई जना पक्राउ

तु खबर संवाददाता
२०८० आश्विन ५,शुक्रबार १७:००

काठमाडौं । प्रहरीले देशको विभिन्न स्थानबाट अवैध लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले कास्की र कैलाली जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले कैलालीको गौरीगंगा नगरपालिका–४ राजीपुर खल्ला बजारस्थित सडकबाट अवैध लागूऔषध चरेस ४ केजी ७ सय १० ग्राम र नगद १८ हजार ५ सय भारतीय रूपैयाँसहित एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीले बझाङको सुर्मा गाउँपालिका–४ ठगुनडाँडा बस्ने ४४ वर्षीय सालीभान पुजारालाई बिहीबार दिउँसो पक्राउ गरेको हो । नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर र लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वर काठमाडौंबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

यस्तै, प्रहरीले कास्कीको पोखरा महानगरपालिका–३० पावरहाउसबाट अवैध लागूऔषध गाँजा २ केजी १ सय ७० ग्रामसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही महानगरपालिका–२१ कृष्ती घर भई हाल सोही महानगरपालिका–१५ फुलवारी गैह्रगाउँ बस्ने १९ वर्षीय राजन विक रहेका छन् । उनलाई ईलाका प्रहरी कार्यालय शिसुवा कास्कीबाट खटिएको प्रहरी टोलीले बिहीबार दिउँसो उक्त गाँजासहित पक्राउ गरेको हो ।

ती दुबै घटनाका बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।