सरकार र शिक्षकबीच आज औपचारिक वार्ता हुँदै
काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकका प्रतिनिधिहरुबीच आज औपचारिक वार्ता हुँदैछ । वार्ता बिहान ९ बजेबाट सुरु हुने भएको हो ।
यसअघि बिहीबार बिहान र बेलुका दुई चरणमा अनौपचारिक छलफल भएको थियो । छलफलमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, शिक्षा मन्त्री अशोक कुमार राई र शिक्षक आन्दोलनको नेतृत्वकर्ता नेपाल शिक्षक महासंघका प्रतिनिधि सहभागी थिए ।
सो छलफलमा शिक्षकका प्रतिनिधिहरुले १७ बुँदे माग प्रस्तुत गरेका थिए । मन्त्रीहरुले कतिपय माग संविधान संशोधन गर्नुपर्ने खालका रहेकाले उक्त मागमा सहमति हुन नसक्ने बताएका थिए । आजको औपचारिक वार्ताबाट सहमतिमा पुग्न प्रयास हुने र सहमति हुने÷नहुने विषय शिक्षक प्रतिनिधिहरूमा निर्भर हुने संचारमन्त्री रेखा शर्माले बताइन् ।
विद्यालय शिक्षा विधेयकका कतिपय व्यवस्थाप्रति विरोध जनाउँदै शिक्षकहरुले विद्यालय बन्द गरी असोज ३ गतेदेखि काठमाडौं केन्द्रित आन्दोलन थालेका छन् ।
