रास्वपाद्वारा विद्यार्थीहरुको पढ्न पाउने अधिकारलाई कुण्ठित नगर्न आग्रह

तु खबर संवाददाता
२०८० आश्विन ४, बिहीबार १७:१९

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विद्यार्थीहरूको पढ्न पाउने हक अधिकारलाई कुण्ठित नगर्न शिक्षकहरुलाई आग्रह गरेको छ । बिहीबार रास्वपाले एक विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘शिक्षकहरुको पेशागत विकासका मागहरुमा हामी एकै ठाउँमा उभिन तयार छौं, साथै शिक्षकहरुले आफ्ना मागहरु सरकारसमक्ष राख्न पाउने वैकल्पिक विधिहरु हुँदा हुँदै विद्यार्थीहरुको पढ्न पाउने अधिकारलाई कुण्ठित नगर्न सम्पूर्ण शिक्षक संगठनहरुप्रति हार्दिक अनुरोध गर्दछौं ।’

साथै विद्यार्थीहरुको उज्जवल भविष्य सुनिश्चित गर्न पनि शिक्षकहरुको हकहित सुनिश्चित हुनुपर्ने भन्दै शिक्षकहरुले आफ्नो पेशागत हकहितका लागि एकजुट हुने नाममा राजनीतिक दलको भ्रातृ संगठनका रुपमा रहन नहुने नीति रहेको रास्वपाले विज्ञप्तिमा उल्लेख गरेको छ ।