कुटपिट गरी लुटपाट गर्ने २ जना पक्राउ

तु खबर संवाददाता
२०८० आश्विन ४, बिहीबार १०:३४

धनगढी । कञ्चनपुरमा सडकमा आक्रमण गरेर लुटपाट गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा वेदकोट नगरपालिका– २ दैजी बस्ने २२ वर्षीय कमल चौधरी र २७ वर्षीय राजु डगौरा रहेको जिल्ला प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

प्रहरीका अनुसार, उनीहरुले शुक्लाफाँटा नगरपालिका–५ स्थित अर्जुनी जंगलमा बुधबार साँझतिर दुई जनामाथि आक्रमण गरी कुटपिट गर्दै लुटपाट गरेका थिए ।

शुक्लाफाँटा नगरपालिका–५ बस्ने ४० वर्षीय अम्बादत्त जोशी र उनकी बहिनी द्रोपती जोशीलाई गड्डाचौकीबाट जर्सी गाई घरतर्फ ल्याइरहेको अवस्थामा दुई युवकले कुटपिट गरी लुटपाट गरेका थिए ।

द्रोपतीले घाटीमा लागाएको ८ (आठ) आनाको तिलहरी, मोबाइल लुटेर फरार भएका दुवै जनालाई इलाका प्रहरी कार्यालय झलारीको टोलीले पक्राउ गरेको हो ।

कुटपिटबाट घाइते भएका अम्बादत्तको दुवै हात र खुट्टामा चोट लागेको छ । उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

पक्राउ परेका उनीहरुमाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।