अवैध लागूऔषधसहित तीन जना पक्राउ

तु खबर संवाददाता
२०८० भाद्र २७, बुधबार १६:४७
सांकेतिक तस्बिर

काठमाडौं । प्रहरीले देशको विभिन्न स्थानबाट अवैध लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले काठमाडौं, झापा र मोरङ जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले काठमाडौंको गोकर्णेश्वर नगरपालिका–६ जोरपाटी चामुण्डा मन्दिर नजिक गल्लीबाट नियन्त्रित लागूऔषध डाईजेपाम ७५ एम्पुल, नोर्फिन ७५ एम्पुल, फेनारगन ७५ एम्पुल र नगद ५५ हजार रूपैयाँसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरीले सोही नगरपालिका–६ जोरपाटी बस्ने सर्लाही हरिवन नगरपालिका–५ घर भएका ३९ वर्षीय गुलाम मन्सुलीसहित दुई जनालाई मंगलबार दिउँसो पक्राउ गरेको हो । पक्राउ परेका अर्का एक जनाको भने प्रहरीले पहिचान खुलाएको छैन । उनीहरुलाई विशेष सूचनाको आधारमा प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

यस्तै, प्रहरीले झापाको बाह्रदशी गाउँपालिका–४ बस्ने २६ वर्षीय सल्मान आलमलाई अवैध लागूऔषध ब्राउनसुगर ७ ग्रामसहित मंगलबार राति पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी चौकी फुलबारीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।

यसैगरी, प्रहरीले मोरङको बिराटनगर महानगरपालिका–१४ स्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब ४० केजी मंगलबार राति बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको टोलीलाई देख्नासाथ को.१७ प ८६३ नम्बरको मोटरसाइकल छोडी चालक फरार भएपश्चात मोटरसाइकलमा रहेको झोला जाँच गर्दा उक्त परिमाणको गाँजा फेला परेको हो । हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ ।

ती सबै घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।