नेपालबाट २ करोडको स्यानिटरी प्याड निर्यात

तु खबर संवाददाता
२०८० भाद्र १७,आईतवार १३:१४
file-photo

काठमाडौं । नेपालबाट एक महिनाको अवधिमा २ करोड रुपैयाँभन्दा बढीको स्यानिटरी प्याड निर्यात भएको छ ।

नेपालबाट चालू आर्थिक वर्ष २०८०/८१ को साउन महिनामा २ करोड ३ लाख रुपैयाँ बराबरको ७१ लाख ३८ हजार पिस प्याड निर्यात भएको भन्सार विभागले जनाएको छ ।

विभागको तथ्यांक अनुसार, नेपालबाट निर्यात हुने स्यानिटरी प्याडको ९९ प्रतिशत हिस्सा भारत गएको छ भने थोरै हिस्सा अमेरिकातर्फ समेत निर्यात भएको छ ।

यस्तै, सो अवधिमा नेपालबाटै २ करोड ८९ लाख रुपैयाँ बराबरको डाइपर निर्यात भएको छ । यस अवधिमा नेपालबाट ३८ लाख ६० हजार पिस डाइपर निर्यात भएको विभागले जनाएको छ ।

यस्तै, यस अवधिबाट विदेशबाट नेपालतर्फ १६ करोड ४२ लाख रुपैयाँको डाइपर आयात भएको छ भने ८ करोड ५४ लाख रुपैयाँको प्याड आयात भएको छ । नेपालमा चीन, भारत, अमेरिका र पाकिस्तानबाट डाइपर आयात भएको देखिन्छ ।

यस्तै, चीन, भारत, कोरिया, पाकिस्तान, अमेरिका र संयुक्त अरब इमिरेट्सबाट स्यानिटरी प्याड आउने गरेको तथ्यांक छ ।