माथिल्लो मैलुङ खोलाको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

तु खबर संवाददाता
२०८० भाद्र १७,आईतवार १२:२५
file-photo

काठमाडौं । माथिल्लो मैलुङ खोलाको प्राथमिक सेयर (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत साउन ४ गतेदेखि भदौ १७ गते आइतबारसम्मका लागि आयोजना प्रभावित स्थानीय बासिन्दालाई लक्षित गर्दै आइपीओ जारी गरेको थियो ।

१०० रुपैयाँ अंकित मूल्यमा १० लाख कित्ता सेयर स्थानीयलाई जारी गरिएकोमा सोमध्ये ५ लाख ७१ हजार ४३० कित्ता सेयर आयोजना अति प्रभावित क्षेत्र रसुवा जिल्लाको उत्तरगया गाउँपालिका वडा नं. १ का बासिन्दालाई छुट्याइएको छ ।

त्यस्तै, २ लाख ८५ हजार ७२० कित्ता सेयर आयोजना प्रभावित क्षेत्र रसुवा जिल्लाको उत्तरगया गाउँपालिकाकै वडा नं. २, ३, ४ र ५ तथा नुवाकोट जिल्लाको किस्पाङ गाउँपालिका अन्तर्गतका वडा नं. ५ का स्थानीयका लागि निष्कासन खुला भएको छ ।

यी क्षेत्र बाहेक रसुवाका अन्य क्षेत्रका स्थानीय बासिन्दाका लागि पनि १ लाख ४२ हजार ८५० कित्ता सेयर जारी गरिएको छ । यसमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।